होमो स्यापिएन्स अर्थात् मनुष्य जाति पृथ्वीको बिरानो वा बाहिरिया प्रजाति हो । यो ग्रह ब्याक्टेरियाहरुको हो । पृथ्वीमा अरु सबै जीवित प्राणीहरुभन्दा धेरै ब्याक्टेरिया छन् र मानव शरीरमा आफ्ना कोशिकाभन्दा धेरै ब्याक्टेरिया छन् । हामी अहिलेसम्म मूर्खतापूर्वक आशावादी भयौं कि अन्ततः भाइरल नभए पनि ब्याक्टेरियल इन्फेक्सनलाई हामीले जितिसक्यौं । हामी कति गलत थियौं! अन्ततः ब्याक्टेरियाहरुले यहाँ श्रेष्ठता हासिल गरेका छन् र मानव जातिविरुद्धको युद्धमा विजय प्राप्त गरेका छन् ।
मार्च १९४२ मा कनेक्टिकटको एउटा अस्पतालमा स्ट्रेप्टोकोकल सेप्सिसबाट मरणासन्न ३३ वर्षे महिलालाई पेनिसिलिन नामको भर्खर आविष्कार भएको एन्टिबायोटिकले स्वस्थ बनाएको थियो । साठी वर्षपछि सान फ्रान्सिस्कोको ७० वर्षे पुरुषलाई भ्यांकोमाइसिन रेसिस्टेन्ट एन्टेरोकोकस फिकियमले संक्रमण भएपछि त्यस्तो संक्रमणका लागि उपलब्ध विश्वकै उत्कृष्ट एन्टिबायोटिकले पनि काम गरेन र उनी संक्रमण लिएरै मरे । पूरा वृत्ताकारमा घुमिसकेपछि हामी अब एन्टिबायोटिक आविष्कार हुनुभन्दा अघिको अवस्थामा पुग्दैछौं ।
—“एन्टिबायोटिक रेसिस्टेन्ट बग्स इन द ट्वेन्टी फस्ट सेन्चुरीः अ क्लिनिकल सुपर च्यालेन्ज”मा सिजार एरियस र बारबरा मुरे
विश्वमा प्रलय वा महाप्रलयको उद्घोष गर्ने मानिसहरुको अभाव छैन । ग्रहहरुको अवस्थिति र गति हेरेर अनिष्टको भविष्यवाणी गर्ने मानिसहरु सुदुर इतिहासदेखि समाजमा व्याप्त हुँदै आएका छन् । तर वैज्ञानिक युगको शुरुआतपछि वैज्ञानिक आधारसहित भनेरै धेरै चोटि प्रलयका उद्घोषहरु हुँदै आएका छन् । डेढ शताब्दी अघि माल्थसले जनसंख्या वृद्धिको उतिखेर विद्यमान् गति कायम रहने हो भने मानिसहरु करोडौंको संख्यामा भोकले मर्ने र सीमित स्रोत साधनका लागि निर्मम र विश्वव्यापी युद्धहरु छेडिने र अन्ततः मानव जाति मासिने अड्कल गरेका थिए । निकट विगतमा मात्र संयुक्त राष्ट्र संघ अन्तर्गतको आइपिसिसीका वैज्ञानिकहरुले सामुहिक रुपमा सप्रमाण भनेर छिट्टै विश्वको तापक्रम बढेर हिमालहरु नांगै हुने र होचो भुगोलमा रहेका देशहरु डुबानमा पर्ने अड्कल गरे ।
त्यसै गरी जब जब अन्तर्राष्ट्रिय द्वन्द्व बढेर जान्छ, मानिसहरुले तेस्रो विश्व युद्ध भएर संसार सखाप हुने अड्कल लगाउँछन् भने शीत युद्धको अवधिभर त जब जब महाशक्तिहरु टकरावको नजिक पुग्थे, विश्वभरका मानिसहरु आणविक युद्ध भएर पृथ्वीबाट मानव जाति मासिने भयो भनेर सास रोकेर समाचारहरु सुनिरहन्थे । बर्ड फ्लु वा सार्सजस्तो रोग विश्वव्यापी रुपमा देखिंदा फेरि यी रोगले विगतका महामारीमा झैं लाखौं वा करोडौं मानिसको ज्यान लिने त हैनन् भनेर वैज्ञानिकहरु चिन्तित हुने गर्छन् ।
भाग्यवश अहिलेको यथार्थ के हो भने, जनसंख्यासँगै उत्पादकत्व र औद्योगिकीकरणमा भएको विकासले माल्थसको भविष्यवाणीलाई यथार्थ हुन दिएन । आइपिसिसीको भविष्यवाणी पूरै गलत त थिएन तर उनीहरुको निष्कर्ष हतारमा निकालिएको र कमजोर वैज्ञानिक आधारमा टिकेको पाइयो । द्वन्द्व जति बढे पनि शीत युद्ध प्रत्यक्ष सैन्य टकरावमा बदलिएन र दोस्रो विश्वयुद्ध यता आणविक हतियारको बिस्तार तीव्र भए पनि युद्ध मैदानमा तिनको प्रयोग हालसम्म भएको छैन । बर्ड फ्लूजस्ता रोगहरुले मानिसहरुलाई तर्साएर मानव बस्ती वरपर घुमिरहे पनि मानवमा महामारी बनाउने चरणमा पुगिसकेका छैनन् ।
परिणाम के भएको छ भने, कुनै पनि अनिष्ट वा महामारी वा प्रलयको भविष्यवाणीलाई मानिसहरुले गम्भीरतापूर्वक लिन छाडेका छन् । संसारभर सत्ता र शक्तिमा रहेका मानिसहरुले जलवायु परिवर्तन बाट चिन्तित वातावरणविद्हरुको कुरा सुन्नुभन्दा तिनका कट्टर विरोधी र पृथ्वीलाई टुक्रा पार्नु परे बरु पारेरै नाफालाई अधिक पार्नुपर्छ र प्राकृतिक स्रोत साधनको उत्खनन र उपयोगमा कुनै अंकुश हुनु हुँदैन भन्ने कर्पोरेशनहरुका कुरा सुनिरहेका छन् ।
यो पृष्ठभुमिमा, विज्ञान र स्वास्थ्यको क्षेत्रमा एकपछि अर्को चमत्कार भएर मानिसको औसत आयु बढेको बढ्यै गरिरहँदा कसैले संसारमा मानिसलाई ब्याक्टेरियाले परास्त गरे भन्छ भने त्यो को हुन सक्छ? कुनै बेनाम शुन्यवादी साहित्यकार? डिप्रेशनको शिकार कुनै वृद्ध? वा एकाएक मानिसको ध्यान तानेर चर्चामा पुग्न खोज्ने कुनै सस्तो सेलिब्रिटी?
दुर्भाग्यवश, अब हामी जुन समस्याको चर्चा गर्दैछौं, त्यसको प्रकृति विगतमा गरिएका भविष्यवाणीका आधारहरुभन्दा बिल्कुल फरक छ । पृथ्वीमा ब्याक्टेरियाको विजयको उद्घोष गर्ने मानिस अरु कोही नभएर संक्रमणजन्य रोगका विशेषज्ञ तथा जर्नल अफ द एसोशिएशन अफ फिजिसियन्स अफ इन्डियाका सम्पादक अब्दुल गाफर के हुन् र माथिको अनुच्छेद उक्त जर्नलको मार्च २०१० अंकको सम्पादकीयबाट लिइएको हो । त्यसै गरी डा बारबरा र मुरे अमेरिकाका प्राध्यापक र अनुसन्धानकर्ता हुन् र उल्लिखत उनीहरुको लेख विश्व प्रसिद्ध जर्नल न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनको २००९ सालको एउटा अंकबाट लिइएको हो ।
गाफर, बारबरा र मुरेका लेखहरुलाई अझ सरल रुपमा यसरी राख्न सकिन्छः नयाँ प्रकारका एन्टिबायोटिकहरु बन्ने प्रक्रिया सुस्त वा बन्द हुने अनि ब्याक्टेरियाहरुलेचाहिं उपलब्ध सबैजसो एन्टिबायोटिकहरुविरुद्ध प्रतिरोध विकास गर्दै जाने क्रमले अहिले नै केही वर्षअघिसम्म सजिलै निर्मूल हुने संक्रमणहरु निर्मूल गर्नु असम्भव भएको छ र एकाध वर्षमै यो समस्याले उग्र रुप लिंदैछ । त्यसो भएको अवस्थामा अति सामान्य मानिएका संक्रमणहरुले मानिसको ज्यान लिनेछन् भने एन्टिबायोटिक प्रयोगमा पूर्णतः निर्भर अंग प्रत्यारोपण र क्यान्सर केमोथेरापीजस्ता उपचारहरु (जसले विगतमा असम्भव लाग्ने रोगहरुको उपचार अहिले सम्भव छ) पूरै काम नलाग्ने भएर जानेछन् । उदाहरणका लागि, लडेर हात भाँचिँदा बनेको घाउबाट रगतमा संक्रमण फैलियो भने त्यही संक्रमणका कारण व्यक्तिको ज्यान जानेछ भने टाइफाइड र टीबीजस्ता विगतका घातक तर हाल सजिलै उपचार हुँदै आएका रोगहरु फेरि असाध्य रोगमा गनिने छन् र टाइफाइडको एउटै महामारीले हजारौं मानिसलाई मार्न सक्नेछ ।
त्यसको अर्थ विश्वका विभिन्न भुगोलका मानिसलाई संक्रमित गर्ने ब्याक्टेरियाहरुले एकैसाथ एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेर देखिने महामारी नै आउनेछ भन्ने हैन । तर ब्याक्टेरियाको खाली एउटा प्रजातिले उपलब्ध सबै एन्टिबायोटिकविरुद्ध प्रतिरोधी क्षमता विकास गर्यो भने त्यो विश्वको एक कुनादेखि अर्को कुनामा फैलिन अहिलेको विश्वमा समय लाग्दैन र कहिले कुन स्तरको महामारी फैलिन्छ, त्यो कसैले अड्कल गर्न सक्दैन ।
त्यो सम्भावित अवस्थालाई अध्ययन गरिरहेका वैज्ञानिकहरुले अहिले दिइरहेका चेतावनीहरुको सरल अर्थ यस्तो हुन्छः जबसम्म व्यक्ति स्वस्थ रहन्छ, संक्रमण हुँदैन र अस्पताल जानुपर्दैन, उसलाई त्यसले त्यति फरक पर्दैन । तर ऊ घाइते भयो भने, उसको परिवारमा कसैलाई संक्रमण भयो भने, कुनै संक्रमित व्यक्तिको नजिकै बसेर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्यो भने, उसले खाने खाना, पिउने पानी र प्रयोग गर्ने औजारबाट कसै गरी संक्रमण भयो भने, अरु कोही बिरामी भएर कुरुवा बन्न अस्पताल गयो भने, आदि अनेक अवस्थामा उसलाई कुनै एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरियाहरुले संक्रमण गर्न सक्छन् र त्यसले ज्यान पनि लिन सक्छ । त्यसबाहेक क्यान्सर जस्तो असाध्य रोग लाग्यो भने र गम्भीर दुर्घटनामा कोही पर्यो भने उसका लागि हाल उपलब्ध उपचारका अत्याधुनिक प्रविधिहरु निष्काम हुनेछन् र त्यसको सीधा अर्थ धेरै जसो बिरामीका लागि मृत्यू हुनेछ ।
चिकित्सा विज्ञानको विकास र बिस्तारका कारण मानिसहरुमा अति आत्म विश्वास पैदा भएको र यस्तो गम्भीर समस्याबारे कसैको ध्यान नगएको अवस्थाबाट विरक्त भएर उक्त समस्यालाई नजिकबाट हेरिरहेका डा गाफरले पृथ्वीमा मानव जातिलाई ब्याक्टेरियाले परास्त गरेको भन्ने सांकेतिक अभिव्यक्ति दिएका हुन् । त्यसको अर्थ विफरको भाइरसजस्तै मानिसको होमो स्यापिएन्स जाति पृथ्वीबाट छिट्टै लोप भएर जानेछ भन्ने हैन, बरु के हो भने विगतमा मानिसले एन्टिबायोटिकहरुको भरथेगमा चिकित्सा विज्ञानमा जुन चामत्कारिक प्रगति गरेर कुनै बेलाका प्राणघाती रोगहरु निर्मूल गरेर रोगी मानिसहरुलाई स्वस्थ बनाएका थिए, अब त्यो छिट्टै असम्भव हुनेछ । अहिलेसम्म जसरी संक्रमितमध्ये कसलाई एन्टिबायोटिक दिएर बचाउने र कसलाई नबचाउने भन्ने कुरा मानिसहरुको हातमा निर्भर छ, भोलि कसलाई संक्रमित गरेर ज्यान लिने र कसलाई संक्रमित नगरेर स्वस्थ छाडिदिने भन्ने ब्याक्टेरियाहरुको हातमा हुनेछ र मानिसहरु किनाराबाट तमाशा हेरेर बसिरहनेछन् ।
पृथ्वी मात्र नभएर पूरा ब्रम्हाण्ड नै जितेको भ्रम पालेर बसेको मानव जातिका लागि त्योभन्दा ठूलो अर्को कुनै हार हुन सक्ला र?
[लेखकीय नोट: यति भनिसक्दा फेरि उठ्ने केही स्वभाविक प्रश्नहरु छन्ः पृथ्वीमा मानव जाति ब्याक्टेरियाजस्तो आँखाले नै नदेखिने गरी सानो प्रजातिसित पराजित हुन लागेको डरलाग्दो अवस्था हो भने किन यो विषयको जानकारी कम्तीमा दक्षिण एशियाका लागि गाफरले लेखेको एउटा सम्पादकीयमा सीमित छ त? किन यो कुरा कोर्समा विद्यार्थीहरुलाई पढाइँदैन? किन चिकित्सकहरुसमेत यो विषयमा चुइँक्क बोल्दैनन्? किन सरकारहरुले आपतकाल घोषणा गरेर यो समस्याको समाधानका लागि तदारुकता देखाउँदैनन्?
गाफरले उक्त सम्पादकीयमै यी प्रश्नको उत्तर दिन्छन्ः यो समस्याबारे जसलाई सुइँको छ र जो यसबारे केही गर्न सक्छन्, उनीहरुमा अस्ट्रिच चराको प्रवृत्ति छ । जब दुश्मनले हमला गर्न आउँछ, अस्ट्रिचले चलाखीपूर्वक मुन्टो जमिनमा गाड्छ र दुश्मन देखिन छाड्छ । उसको विश्वास हुन्छः उसले नदेखेपछि शिकारीले पनि उसलाई देख्दैन । परिणाम के हुन्छ भने भाग्नलाई प्रयोग हुन सक्ने अमूल्य समय जमिनमा मुन्टो गाडेर बितिदिन्छ र दुश्मनको शिकार हुनुको विकल्प रहँदैन ।
के यो समस्यासामू हामी सबै अस्ट्रिच बनेर बसिरहेका हौं त? यदि समस्यालाई लुकाउँदैमा र त्यसबाट भाग्दैमा त्यसको समाधान हुँदैन भने त्यसका सम्भावित समाधानहरु के हुन सक्छन् त? नेपालको स्वास्थ्य क्षेत्रको विद्यमान् अवस्थामा त्यो खतराबारे जान्नु र नजान्नुले के फरक पार्छ? यो समस्या हामी सबैको हो कि बिरामी भएर अस्पताल जानेहरुको मात्र हो वा अझ संक्रमित हुनेहरुको हो?
यिनै प्रश्नहरुका सकभर अर्थपूर्ण उत्तरहरु खोजेर समस्याको गहनताबारे आम नागरिकलाई जानकारी दिन र चिकित्सक समुदायमा समस्या समाधानका सम्भावित उपायहरुबारे बहस चलाएर त्यो दिशामा गर्न सकिने कामहरु थाल्ने तथा त्यस दिशामा पहिल्यैदेखि भइरहेका प्रयासहरुलाई भरथेग गर्ने उद्देश्यले नेप्लिज इनिसिएटिभ फर प्रिभेन्सन अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्स नामको अभियान शुरु भएको छ । उक्त अभियानको जन चेतना फैलाउने लक्ष्य पूरा गर्नका लागि "एन्टिबायोटिक युगको अन्त र चिकित्सा विज्ञानको अन्धकार यात्रा"शीर्षकको लेख श्रृंखला लगायत अन्य धेरै सान्दर्भिक सामाग्रीहरु यो ब्लग मा प्रकाशित हुनेछन् । यो विषयमा प्रतिक्रियाहरु भएमा अभियानको इमेल ठेगाना (mailnipar@gmail.com) मा सम्पर्क गर्न अनुरोध गरिन्छ । ]
No comments:
Post a Comment