एन्टिबायोटिक युगको अन्त र चिकित्सा विज्ञानको अन्धकार यात्रा- 1
एन्टिबायोटिक युगको अन्त र चिकित्सा विज्ञानको अन्धकार यात्राः पृष्ठभुमि
तर एन्टिबायोटिक युगको शुरुवातसँगै एकपछि अर्को किसिमका संक्रमणविरुद्ध औषधिहरुको आविष्कार भयो र पहिलेका समस्याहरु इतिहास बनेर गए । त्यसका साथै एन्टिबायोटिकहरुलाई अनन्त कालसम्म काम गरिरहने अचूक औषधिका रुपमा प्रयोग गर्न थालियो । दुर्भाग्यवश, जसरी मानव जाति लाखौं वर्षदेखि अनेक आरोह अवरोह झेलेर आफूलाई परिष्कृत गदैृ यो ग्रहमा जीवित छ, त्यसरी नै ब्याक्टेरियाहरुले पनि आफूलाई परिष्कृत गर्दै एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरे । विशुद्ध जीव विकासको सिद्धान्तबाट हेर्दा ब्याक्टेरियाहरुले त्यस्तो क्षमता विकास गर्नु स्वभाविक र एक हिसाबले अपरिहार्य थियो । कुरा यत्ति हो कि दुर भविष्यसम्म हेरेर एन्टिबायोटिकको जथाभावी प्रयोग नगरेको भए र नयाँ प्रकारका एन्टिबायोटिकको आविष्कारका लागि यथेष्ट ध्यान दिएको भए एन्टिबायोटिक युग अर्थात् एन्टिबायोटिकले काम गर्ने समय कम्तीमा अरु एक शताब्दी जति लम्ब्याउन त्यति गाह्रो थिएन ।
तर त्यसो नभएर बहु प्रतिरोधी ब्याक्टेरियाहरु विश्वभर फैलिएर जन स्वास्थ्यका लागि ठूलो चुनौती बनिसकेपछि नेपालमा चाहिं यसको स्थिति के छ भनेर जान्नु आवश्यक छ ।
नेपाल लगायतका अविकसित देशहरुमा समस्याको गहिराइ यति नै छ भनेर ढुक्कसाथ भन्न गाह्रो छ किन भने विकसित देशहरुमा जस्ता गहन र ठूलो स्तरका वैज्ञानिक अध्ययनहरु यहाँ हुने गरेका छैनन् । त्यसबाहेक हामीकहाँ बिरामी हुने जति सबै अस्पताल जाने र अस्पताल जाने जतिको रोग पूर्ण रुपमा निदान हुने अवस्था छैन । श्रोत, साधन र प्रविधिको सीमितताले विकसित देशमा सजिलै पत्ता लाग्ने रोग र समस्याहरु हामीकहाँ पत्ता लाग्ने गर्दैनन् । त्यसबाहेक जति कुरा पत्ता लाग्छन्, तिनको दुरुस्त रेकर्ड राख्ने प्रणाली नभएकाले कति जानकारी सम्भव भए पनि अध्ययनका लागि उपलब्ध हुँदैन ।
त्यसको अर्थ के हैन भने, हामीकहाँ समस्याको फैलावट कति छ त्यसको अनुमानै लगाउन सकिंदैन । हामीसित त्यस्ता केही मापदण्डहरु छन्, जसको मदतले हामीकहाँ समस्या यत्तिको विकराल छ र छिमेकीको तुलनामा हामी यति सुरक्षित वा असुरक्षित छौं भनेर भन्न सक्छौं । त्यस्तै मापदण्डमध्ये एउटा मापदण्डबारे यो खण्डमा चर्चा गरौं ।
हाल उपलब्ध एन्टिबायोटिकहरुमध्ये सबैभन्दा शक्तिशाली मानिएको कार्बापेनेम ग्रुपका एन्टिबायोटिकहरुले पनि मार्न नसक्ने एउटा ब्याक्टेरिया एउटा स्वेडिश विरामीमा भारतबाट सल्केको भनेर प्रमाणित भएपछि त्यस्तो ब्याक्टेरियाको प्रतिरोधी जिनको नाम न्यू दिल्ली मेटालो बिटा ल्याक्टामेज वन (एनडीएम वन) राखिएको थियो । त्यसले भारतका वैज्ञानिकहरु र संक्रमणजन्य रोगका विशेषज्ञहरुलाई व्यग्र बनायो किनकि लगत्तै भारतका धेरै ठाउँबाट ब्याक्टिेरियाको त्यस्तो जिन फेला पर्दै गयो । र त्यो र त्योजस्तै अन्य एन्टिबायोटिक प्रतिरोधी जिनको डरलाग्दो पक्ष के छ भने होरिजन्टल स्प्रेड भनिने तरिकाबाट तिनीहरु एउटा प्रजातिको ब्याक्टेरियाबाट अर्को प्रजातिमा सजिलै सर्न सक्छन् ।
त्यसको मतलब, मानौं, क गाउँमा न्युमोनिया गराउने एनडीएमयुक्त ब्याक्टेरिया छ र ख शहरमा मेनिन्जाइटिस गराउने सामान्य खालको ब्याक्टेरिया छ । एनडीएम भए पनि न्युमोनिया व्यक्तिको रोग प्रतिरोधी क्षमताका कारण ठिक हुन सक्छ भने मेनिन्जाइटिसचाहिै एनडीएमरहित ब्याक्टेरियाले गराएकाले एन्टिबायोटिक प्रयोगपछि निर्मूल भएर जाने सम्भावना हुन्छ । तर यदि क बाट एउटा रोगी व्यक्ति ख मा गयो र त्यहाँको मेनिन्जाइटिस गराउने ब्याक्टेरियालाई एनडीएम सार्यो भने, मेनिन्जाइटिस एकाएक प्राणघातक भएर जान्छ ।
त्यस्तो चक्र र सराइ हजारौंपल्ट भैसकेको र उक्त जिन भारतभर फैलिएको जानकारी पाएपछि नीति निर्माणको जिम्मा पाएका राजनीतिज्ञहरुले क गर्नुपथ्र्यो त? स्पष्ट छः भारतमा त्यो ब्याक्टेरियासम्बन्धी शोधलाई तीव्र पारेर त्यसको फैलावट रोक्न प्रयास गर्नुपथ्र्यो । तर देश बदनाम भएकोमा रुष्ट भएका र आफ्नो आङको भैंसी पनि नदेख्ने भारतीय राजनीतिज्ञहरुले उल्टै अनुसन्धानको नतिजा प्रकाशित गर्ने अंग्रेजी जर्नल ल्यान्सेटले फर्जी अनुसन्धान गरेको भनेर आरोप लगाएका थिए ।
त्यो हिसाबले यो मुद्दामा हामी नेपालीहरु पनि डा गाफरले भनेझैं अस्ट्रिच चरा बनेर बसेका छौं । एनडीएम वनको मुद्दाले भारतमा तहल्का मच्चाइरहँदा (अरु सबै तहल्काजस्तै त्यो पनि केही हप्तामा सेलाएर गयो, त्यो अर्कै कुरा हो) हामी कानमा तेल हालेर बसिरह्यौं किनकि भारत भारतै हो र नेपाल नेपालै हो । हाम्रा आफ्नै घरायसी समस्या कम छैनन् कि हामी छिमेकीको समस्यामा चिन्तित बनौं ।
तर अहिले करीब पाँच वर्षको अवधिमा ब्याक्टेरियाहरुमा हुने र एन्टिबायोटिकहरुलाई निरस्त पार्ने एनडीएम जिनका नयाँ नयाँ प्रकारहरु फेला परिरहेका छन् र तीमध्ये एनडीएम एट काठमाडौंस्थित त्रि वि शिक्षण अस्पतालको एउटा बिरामीमा जापानको एउटा प्रयोगशालामा जाँच गरेपछि पहिलोपटक पत्ता लागेको थियो (त्यससम्बन्धी एन्टिमाइक्रोबिएल एजेन्ट्स एन्ड केमोथेरापी जर्नलमा प्रकाशित भएको आर्टिकल पढ्नुहोस्ः यहाँ) । त्यसयता सोही प्रयोगशालामा एनडीएम ट्वेल्भ पनि पत्ता लागिसकेको छ (१)।
त्यसको अर्थ हुन्छ, या त उक्त एनडीएम जिन भएका ब्याक्टेरियाहरु हामीकहाँ वर्षौंदेखि विद्यमान् छन्, या त यी वर्षहरुमा भारत र नेपालमा यी जिन भएका ब्याक्टेरियाहरुको निर्बाध आवतजावत भइरहेको छ र ब्याक्टेरियाहरुले आरामसाथ एनडीएमकै एकपछि अर्को प्रकार विकसित गर्दै गइरहेका छन् । जुन यता विकसित हुन्छ, त्यो उता पुग्छ र जुन उता विकसित हुन्छ, त्यो सजिलै यता पुग्छ ।
त्यसको अर्थ के पनि हुन्छ भने, एनडीएमजस्तै अरु एन्टिबायोटिक प्रतिरोधी जिनहरु हाम्रो वरपरका र हामीलाई संक्रमण गर्ने ब्याक्टेरियाहरुमा छन् कि छैनन् वा छन् भने कति घातक र कति फैलिइसकेका छन् भन्ने कुनै जानकारी हामीलाई छैन । हामीसित त खाली ब्याक्टेरियाहरुले बहु प्रतिरोधी क्षमता विकसित गरिसकेपछि यो यो एन्टिबायोटिकले अब काम गर्दैनन् भनेर भन्ने क्षमता मात्र छ । जसरी स्वेडिश बिरामी भारतमा संक्रमित भएर युरोप पुगेर उपचार गराएकाले एनडीएम जिन पत्ता लाग्यो, त्यसरी नै हामीकहाँ विकसित डर लाग्दा ब्याक्टेरियाहरु लिएर कोही मानिस युरोप वा अमेरिका पुगे मात्र त्यस्ता अरु आविष्कारहरु हुने अवस्था छ । तयसैले त्यस्ता अरु डर लाग्दा जिनहरु र तिनलाई बोकेका ब्याक्टेरियाहरु पत्ता नलाग्नु भनेको तिनीहरु अस्तित्वमा छैनन् भन्ने पटक्कै हैन ।
एनडीएमको प्रसंग बिर्सिदिने हो भने पनि अवस्था कति विकराल छ भने बहु एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरु आउनु नेपालका माइक्रोबायोलोजी प्रयोगशालाहरुका लागि सामान्य भएको छ । तीमध्ये सबैभन्दा चिन्ताजनक ब्याक्टेरियाहरु पोलिमिक्सिन बी, कोलिस्टिन र टाइजेसाइक्लिन नामका तीन एन्टिबायोटिकबाहेक अरु सबै एन्टिबायोटिकका लागि प्रतिरोध विकास गरिसकेका छन् । तिनमध्ये पनि पोलिमिक्सिन बी र कोलिस्टिनचाहिं विगतमा प्रयोगमा आएर धेरै टक्सिसिटीका कारण प्रयोग गर्न कम गरिएका एन्टिबायोटिक हुन् र तिनको प्रयोगलाई थाम्न सक्ने गम्भीर संक्रमणका बिरामीहरु कमै हुन्छन् । धेरै बिरामीलाई ठिक पार्न कुनै पनि एउटा एन्टिबायोटिकमा निर्भर हुनु भनेको छिटोभन्दा छिटो उक्त एन्टिबायोटिक विरुद्ध प्रतिरोध विकास गर्ने मौका ब्याक्टेरियाहरुलाई दिनु हो । त्यो हिसाबले टाइजेसाइक्लिनले कति दिन त्यस्तो चाप धान्छ, त्यो आफैंमा सन्देहको कुरा छ ।
त्यसबाहेक भ्यांकोमाइसिन नामको एउटै एन्टिबायोटिकले ग्राम पोजिटिभ वर्गका ब्याक्टेरियाहरुको यति धेरै चाप खेप्नुपरेको छ (त्यसको प्रतिरोधसमेत अब सामान्य भइसकेको छ) कि त्यसले काम गर्न छाडेपछि चलाउन मिल्ने त्यस्तै वा त्यो समुहको अर्को कुनै एन्टिबायोटिक नै छैन । डा बारबरा र मुरेको लेखबाट यो श्रृंखलाको शुरुमा उदधृत गरिएको प्रसंगले के देखाउँछ भने अमेरिकामा पनि भ्यांकोमाइसिन प्रतिरोधी ब्याक्टेरियाको लागि कुनै प्रभावकारी एन्टिबायोटिक छैन ।
यी सब कुराको चर्चापछि व्यवहारिक स्तरमा दुइटा कुरा उठ्छन्ः समस्या यति गम्भीर नै हो भने किन यो आम चर्चा वा कम्तीमा चिकित्सक समुदायमा चर्चाको विषय बनेको छैन र अर्को अस्पतालहरुमा लापरवाही भएर मानिस मरे भन्ने यति धेरै समाचारहरु आइरहँदा बहु एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरुको प्रसँग किन अहिलेसम्म जोडिएन ।
यी सवालहरुका जवाफले हामीकहाँको स्वास्थ्य सेवाको स्तर र त्यसलाई कभर गर्ने सञ्चार माध्यमहरुको प्रवृत्तिबारे धेरै कुरा बोल्ने भएकाले तिनबारे एउटा सिंगै खण्डमा चर्चा गरिनेछ ।
सन्दर्भ सामाग्रीः
(१) त्रि वि शिक्षण अस्पताल, महाराजगन्जमा अध्ययनरत डा सन्तोष दाहाल र नारायण पराजुलीसँगको कुराकानीमा आधारित, २०७१.३.११ ।
No comments:
Post a Comment