Earlier in the series:
एन्टिबायोटिक युगको अन्त र चिकित्सा विज्ञानको अन्धकार यात्राः पृष्ठभुमि
मानव ब्याक्टेरिया द्वन्द्वः यसरी हार्दैछ नेपाल
नेपालको सन्दर्भमा संक्रमणलगायत धेरै रोग र समस्याहरुको उपचार जटिल, महंगो र कम प्रभावकारी हुने तथा त्यस्तो उपचार उपलब्ध नभएर विदेश गएर कष्टसाथ महंगो उपचार गर्नुपर्ने बाध्यतासित धेरै नेपालीहरु परिचित छन् । तर किन हुन्छ त्यस्तो? हामीकहाँ त्यस खालको उपचारका लागि स्रोत साधन नपुगेको हो कि अन्यत्र आइसकेको प्रविधि नआइपुगेको हो? कि हामीकहाँका चिकित्सकहरुमा यथोचित ज्ञान र सीप नपुगेर त्यस्तो भएको हो?
नेपालमा उपलब्ध स्वास्थ्य सेवा कमसल हुनु र छिमेकीहरुले राम्रो प्रगति गर्दा पनि हामीहरुले अन्य क्षेत्रजस्तै यो क्षेत्रमा पनि अपेक्षित प्रगति गर्न नसक्नुका पछाडि माथिका तीनै कारणहरुको आंशिक भुमिका रहेको छ । तर नेपालसित सम्बन्धित यस्ता खास समस्याबाहेक जन स्वास्थ्यको क्षेत्रमा अरु यस्ता समस्या पनि छन्, जसका आयामहरु विश्वव्यापी छन् । ती समस्याहरुसित जुध्न अत्याधुनिक स्वास्थ्य सेवा हुने विकसित देशहरुलाई समेत हम्मे पर्दै आएको छ ।
बर्ड फ्लूजस्ता एकसाथ एकभन्दा बढी महादेशमा महामारीका रुपमा फैलिने सम्भावना बोकेका संक्रमणहरुदेखि रसायन र कीटनाशक ओषधिहरुको बढ्दो प्रयोगले महामारीका रुपमा फैलिंदै गरेको क्यान्सरसम्म, मानव जातिको अहिलेको पुस्ताका लागि ठूलो चुनौती भएर खडा भएका छन् ।
यो परिप्रेक्ष्यमा तत्कालै संकटको स्थिति निम्त्याउन थालेको एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको समस्याबारे यसअघि
समग्रमा चर्चा गरिएको थियो र यो खण्डमा चाहिं खास गरी नेपालको परिप्रेक्ष्यमा समस्याको गम्भीरताबारे चर्चा गरिनेछ ।
बहू प्रतिरोधी ब्याक्टेरियाहरुको उत्पत्ति र बिस्तारबाट नेपाल डराउनु पर्ने खास केही कारणहरु छन्ः
- खूला बजार अर्थतन्त्रका कारण संसारमा कहीं पनि आविष्कार भएका एन्टिबायोटिक लगायतका औषधिहरु नेपाल सजिलै पुग्छन् । तर संसारको कुनै एउटा कुनामा बहू प्रतिरोधी ब्याक्टेरिया विकास भयो भने त्यो सजिलै अर्को कुनामा पुग्छ र कहीं गए पनि त्यसका लागि एन्टिबायोटिकहरुले काम गर्दैनन् । त्यसबाहेक त्यस्ता ब्याक्टेरियाले गर्ने संक्रमणको उपचार यति महँगो छ कि औसत नेपालीले या त घरखेत बेचेर उपचार गर्नुपर्छ वा विना उपचार मर्नुपर्छ । नेपालका अस्पतालहहरुमा अहिले पनि सर्सर्ती हेर्ने हो भने स्पष्ट हुन्छः ठूलो रोग वा अपरेशनका लागि अस्पताल भर्ना भएका बिरामीहरुका लागि अस्पतालका अन्य शुल्कको भन्दा औषधिको भार चर्को हुन्छ र तीमध्ये बढी महँगा औषधिहरु धेरै अवस्थामा एन्टिबायोटिकहरु हुन्छन् ।
- विकसित तथा विधि र थितिको राजनीति भएका देशहरुमा स्वास्थ्य क्षेत्रले रोगहरुसित लड्न धेरै रणनीतिहरु एकसाथ अपनाउँछन् । अस्पतालमा हुने संक्रमणबाट बच्न अस्पताल परिसरमा असेप्सिस र स्टेरिलाइजेशनको उत्कृष्ट व्यवस्था हुन्छ, त्यसैले डरलाग्दो ब्याक्टेरिया पनि एक जनाबाट अर्कोमा झट्टै फैलिंदैन । तर हामीकहाँ स्थिति उल्टो छ । देशको समग्र भद्रगोल स्थिति स्वास्थ्य क्षेत्रमा पनि झल्किन्छ । चिकित्सकहरुको ध्यान जति संक्रमणहरुको उपचार गर्नतिर छ तर संक्रमण रोक्नका लागि अपनाइने प्रणालीहरु या त शुरु नै भएका छैनन्, अस्तव्यस्त छन्, या निष्काम भएका छन् । परिणामस्वरुप संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिकहरु एउटै हतियारका रुपमा प्रयोग हुन्छन् र ब्याक्टेरियाहरुले छिट्टै प्रतिरोधी क्षमता विकास गर्न सक्छन् अनि अन्यत्र भए सजिलै नियन्त्रणमा आउन सक्ने संक्रमण हामीकहाँ महामारी बनेर फैलिन सक्ने सम्भावना उच्च हुन्छ ।
- स्तरीय स्वास्थ्य सेवामा पहुँचको अभावका कारण नेपालको कुनै गाउँ वा शहरमा बहु प्रतिरोधी ब्याक्टेरिया विकसित भयो भने त्यो ब्याक्टेरिया वर्षौंसम्म समाजमा घुमिरहेर हजारौं मानिसलाई संक्रमित गरेर प्रतिरोधी क्षमता बढाइसकेपछि मात्र पत्ता लाग्ने वा पत्तै नलागी मानिसहरुको ज्यान लिने सम्भावना हुन्छ । एनडीएम एटको आविष्कार पनि त्रि वि शिक्षण अस्पताल र जापानको विश्वस्तरीय प्रयोगशालासँगको सहकार्यबाट मात्र सम्भव भएको थियो । त्यस्तो सहकार्यको अभावमा उक्त जिन भएको ब्याक्टेरिया दशकौं पत्ता नलागी रहन सक्ने थियो ।
- अक्सर संक्रमणजन्य रोगहरु सरसफाइमा कम ध्यान पुगेका विपन्न समुदायहरुमा फैलिने गर्छन् । नेपालको बहुसंख्यक जनसंख्याले त्यस्तो मापदण्ड पूरा गर्छ । यो स्थितिमा कठोर खालको संक्रमण एक पल्ट देखा परेपछि त्यसलाई महामारीमा बदलिनबाट रोक्न ज्यादै कठिन हुन्छ ।
- महामारी फैलिएको अवस्थामा देशभर सामञ्जस्य गरेर त्यसलाई नियन्त्रण गर्नमा राज्य र यसअन्तर्गतका निकायहरुको केन्द्रीय भुमिका हुन्छ । तर हामीकहाँ एकतिर राज्य सुस्त छ भने अर्कोतिर नागरिकहरुको राज्यप्रतिको विश्वास कम छ । राज्यलाई झुक्याएर कुखुरापालकहरुले देशभर बर्ड फ्लू रोग फैलाएजस्तै अरु कुनै महामारी फैलिने अवस्था आयो भने मानिसहरुले लाखौं मानिसको ज्यान जाने खतरा मोलेरै भए पनि आफ्नो तत्कालीन लाभ लिएरै छाड्ने अवस्था छ ।
यी बुँदाहरुले यस्तो गम्भीर मुद्दामा हामी किन उदासीन छौं भन्ने प्रश्नको पनि सहज उत्तर दिन्छन् । उत्तरदायित्वबाट च्यूत सरकार नभएको भए कम्तीमा पनि नेपालमा एनडीएम एट देखिएको बेलादेखि बहु प्रतिरोधी ब्याक्टेरियाहरुको अनुसन्धानमार्फत् पहिचान गरेर तिनको नियन्त्रणका लागि ठोस नीति लिइसकेको हुने थियो । अन्तर्राष्ट्रिय छविप्रति संवेदनशील भारतका राजनीतिज्ञहरुले बरु ल्यान्सेटको अनुसन्धान नै फर्जी भएको भनेर कम से कम नकरात्मक प्रतिक्रिया त दिए तर आम महत्वका अरु विषयजस्तै यो विषयलाई पनि सरकारले बेवास्ता गरेर पचायो ।
परिणामतः यो समग्र मामलामा नेपाल एउटा सोझो अस्ट्रिचको भुमिकामा रहेको छ । त्यति हुँदाहुँदै पनि यो विषयमा नेपालमा चासो र अनुसन्धान हुँदै नभएका चाहिं हैनन् । गार्प—नेपाल (ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसीप) ले नेपालमा गर्दै गरेको एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरुको समस्याबारे सिचुएसन एनालिसिस अन्तिम चरणमा रहेर सार्वजनिक हुने क्रममा छ (१)। त्यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले विभिन्न १९ वटा माइक्रोबायोलोजी प्रयोगशालाहरुसँगको सहकार्यमा गर्दै गरेको
एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भेइलेन्स प्रोग्राम पनि अहिले १५ औं वर्षमा चलिरहेको छ ।
त्यसो भएता पनि हाम्रा नीति निर्माताहरु र सरोकारवालाहरु (चिकित्सक, मेडिकल काउन्सिल, पारामेडिक्स, औषधि विक्रेता, बिरामी र अस्पताल प्रशासनहरु) मा समस्याको गम्भीरताबारे चासोको समेत अभाव पाइन्छ, समस्यालाई समग्रतामा हेरेर समाधानको कुरा गर्न त परै जाओस् । स्वास्थ्य सेवाका सेवाग्राही र सेवादाता दुवै पक्ष आफ्नो तत्कालीन समस्या र अभ्यासमा यति लीन छन् कि व्यक्तिगत स्तरमा उपचार दिनु र लिनु बाहेक जन स्वास्थ्यसित सम्बन्धित अरु जटिल र आम मुद्दाहरु अस्तित्वमा छन् भन्नेसम्म उनीहरुलाई हेक्का छैन ।
त्यसबाहेक स्कुलको स्वास्थ्य शिक्षा औपचारिकतामा मात्र सीमित हुनु र देशको दुई तिहाइ जनसंख्यालाई जीविका चलाउनै संघर्ष गर्न पर्नुले मानिसहरुले दैनिक जीवनसित जोडिएकाबाहेक अरु समस्याहरुप्रति चासो देखाउने अवस्था छैन । त्यही अवस्थाको फाइदा उठाउँदै जनस्वास्थ्य सम्बन्धी समस्याको पहिचान र समाधान गर्ने जिम्मा लिएका नीति निर्माताहरु सुत्केरीहरुलाई बाँड्ने आइरन चक्कीमा घोटाला गर्दै आफ्नो कार्यकाल गुजारिरहेका छन्, र त्यस्तो करामतका लागि बहु प्रतिरोधी ब्याक्टेरियाजस्तो गम्भीर विषयमा ज्ञान हुनुसम्म जरुरी हुँदैन ।
अर्कोतिर जसरी ट्याब्लेट र आइफोन पाएपछि मानिसहरुले सुविधासम्पन्न भएकोमा गर्व गर्छन् र त्यस्तै खालको आविष्कार आफ्नो देशमा नभएकोमा लघुताभासको अनुभव गर्दैनन्, त्यसै गरी नेपाल लगायतका अविकसित देशहरुमा रोग निदान र उपचारका उन्नत प्रविधिहरु अन्यत्र आविष्कार र विकास भइसकेपछि आइपुग्छन् र यहाँको चिकित्सक समुदायलाई लाग्छ, हामीसित विश्वस्तरको उपचार पद्धति छ । त्यस्ता प्रविधिको विकासमा आफ्नो भुमिका शुन्य हुनु भनेको प्रभावकारी रुपमा तिनका सम्भावना र सीमितता नबुझ्नु हो ।
एन्टिबायोटिकको प्रसंगमा पनि भइरहेको त्यही हो । आविष्कार गर्नका लागि दशकौं रातदिन खटिरहने वैज्ञानिकहरुको संघर्ष र महँगो खर्च जुटाउनका लागि घरखेत बेचेर आउने बिरामीको अवस्था दुवैबाट विच्छेदित ब्यक्ति चिकित्सक भएर बस्दा एन्टिबायोटिकको यथोचित मात्र प्रयोग हुनुपर्छ र ब्याक्टेरियाहरुलाई प्रतिरोधी क्षमता विकसित गर्न दिनु हुँदैन भन्ने भाव कतैबाट पनि आउन सम्भव हुँदैन । अझ चिकित्सा शिक्षामा कायम मनपरी र भद्रगोलका कारण एकतिर पाठ्यक्रममा शोध र अनुसन्धानलाई उचित महत्व नदिइनु अनि अर्कोतिर पाठ्यक्रममा भएका तर कम महत्वका मानिने शोध र अनुसन्धान सम्बन्धी अध्यायहरु नपढिकनै वा चिट चोरेर पास हुुनु र तिनलाई फेरि कहिल्यै फर्केर नहेर्नु सामान्य भैसकेको छ ।
परिणामस्वरुप, बहु–प्रतिरोधी बयाक्टेरियाको मामलामा नेपालीहरुको रवैया कस्तो छ भने, समस्या फैलाउनमा हामी सबैले अज्ञानता वा लापरवाहीवश आ–आफ्नो ठाउँबाट भुमिका खेलिरहेका छौं भने समाधानका लागि के गरिनुपर्ने हो भन्ने बारे हाम्रा नीति निर्माताहरुले समेत सोच्न शुरु गरेका छैनन् ।
(क्रमशः)
सन्दर्भ सामाग्रीहरुः
(१) गार्प नेपाल वर्किङ ग्रुपका सदस्य समीर मणि दीक्षितसँगको कुराकानीमा आधारित, २०७१.३.८
No comments:
Post a Comment